Logo
१० माघ २०८१, बिहीबार
(December 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराको मित्र मिलन सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम हिनामिना आरोपमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो । पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म छन् ।

जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ । सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो ।

पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक समेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरू विरुद्ध पीडितले उजुरी दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी

रुपैयाँ हिनामिना गरेको निकालेको थियो । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति: Dec 4, 2023

प्रतिक्रिया दिनुहोस्