Logo
४ आश्विन २०८१, शुक्रबार
(November 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

औपचारिक रूपमा त्यसको म्याद नथपिए पनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए । बैठक बसेर अभियानको म्याद थप्ने निर्णय हुन्छ अहिलेलाई त्यही अभियानलाई निरन्तरता दिएको बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन, उनी काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने उनले बताए ।

विधान अधिवेशनबाट नयाँ विधान ल्याइ सकेपछि विधान अनुसार पार्टी पुनर्गठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । त्यो अभियानबाट प्रदेश समिति र राष्ट्रिय समिति तथा केही जिल्ल र पालिका समिति पुनर्गठन गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेस प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समितिहरू पनि पुनर्गठन भइसकेका छन् ती समितिहरूको प्रतिवेदन पनि केन्द्रलाई प्राप्त भइसकेको बताए । अब जिल्ला र पालिकालाई गठन तथा पुनर्गठन गर्नका लागि अभियानलाई निरन्तरता दिने उनले बताए । अभियानको क्रममा पार्टीले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो ।

केन्द्रीय समितिको बैठक पनि बस्ने बेला भएको छ । केन्द्रीय समितिको बैठक बस्नुअघि जिल्ला तथा पालिका एवं सम्पूर्ण भातृ सङ्गठन गरिसक्नु पर्ने हुन्छ ।

सबै सङ्गठन पुनर्गठन भइसकेपछि केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता सुमनले बताए । कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङ्गठनलाई गठन तथा पुनर्गठनलाई तीव्रता दिइने उनले बताए ।

राष्ट्रिय समितिले जिल्ला समिति र जिल्ला समितिले पालिका समिति गठन गर्ने प्रावधान रहेको छ । प्रदेश र राष्ट्रिय समिति पुनर्गठनमा ढिलाइ भएको कारण जिल्ला र पालिका पुनर्गठनमा ढिलाइ भएको प्रचार प्रसार विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति: Nov 29, 2023

प्रतिक्रिया दिनुहोस्