Logo
४ आश्विन २०८१, शुक्रबार
(November 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवस्थाको विकल्प खोज्नतिर लागे अर्को जुनी खेर जान्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने बताएका छन् । शुक्रवार कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा महामन्त्री थापाले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताएका हुन् ।

‘गल्ती र कमजोरीहरू भएका छन् । सच्याउने हो । तर, यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । हाम्रो आस्थालाई बोकाएर हुँदैन । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’ उनी भन्छन् ।

प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरू बैठक बसेर देश डुब्यो–डुब्यो भन्ने खालका छलफल गर्ने गरेको थापाले बताए । ‘मैले अस्ति उहाँहरूलाई भने – आजबाट नेपालका प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीले अब प्रधानमन्त्री हुन्न भनेर निर्णय गर्‍यौँ भन्नुभयो भने समस्या सकिन्छ,’ उनले भने ।

नेपाली कांग्रेसले मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्ने भन्दै नबरालिन कार्यकर्तालाई उनको आग्रह छ । ‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईंहरूको चित्त दुखेको छ, म मान्दछु । चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु । यसलाई सम्बोधन गरेर जाने हो ।’

यस्तै महामन्त्री थापाले ०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौँमा दीपावली भएको स्मरण गराए । ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उनले भने, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए । ३ वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुस् त ।’

राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको महामन्त्री थापाले बताए । ‘अब व्यवस्था बदल्ने होइन । नेताहरूले आचरण बदले हुन्छ भने आचरण बदलौँ । नेता बदले हुन्छ भने ता बदलौँ ,’ उनले भने ।

प्रकाशित मिति: Nov 24, 2023

प्रतिक्रिया दिनुहोस्