Logo
५ आश्विन २०८१, शनिबार
(October 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ महानगरपालिकाले खुला मञ्च बन्द गर्न पाउँदैन : प्रमुख जिल्ला अधिकारी बस्नेत

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् ।

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताएका हुन् । उनले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताए ।

उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए । उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरुले माईतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए ।

‘विगत लामो समयदेखि प्रर्दशन,सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुल्ला मञ्चको रुपमा प्रयोग भएको थियो । त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ । कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छैन । खुलामञ्च नेपाल सरकारको नाममा छ’ उनले भने, ‘त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह महानगरले प्रयोग गर्ने हो अन्योल छ । खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने माग छ । त्यो खुलामञ्च हो खुलामञ्च कै रुपमा प्रयोगमा आउनुपर्छ । त्यहाँ नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्छ । त्यो कसैले ताला लगाएर बन्द गरेर राख्न पाइँदैन ।’

उनले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माइतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए । उनले काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरुलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए । उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए । उनले देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे ।

उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्ने बताउँदै ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए ।

 

प्रकाशित मिति: Oct 1, 2023

प्रतिक्रिया दिनुहोस्