Logo
५ आश्विन २०८१, शनिबार
(September 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई पत्रकार संगठनबीच एकता, क्रान्तिकारी प्रेस संगठनको घोषणा

क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । ललितपुरमा आयोजित एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को पारित गरेको छ ।

शनिवार राति सम्पन्न भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक निर्वाचित भएका छन् । दुवै संगठनका देशैभरबाट उपस्थित प्रतिनिधिहरूको भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ ।

भेलाले पत्रकारहरूको पेसागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने तथा नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट बञ्चित गर्ने कार्यको भण्डाफोर गर्ने लगायतका समसामयिक प्रस्ताव पारित गरेको संगठनका सहसंयोजक नारायण पंगेनीले जानकारी दिए ।

नवनिर्वाचित कमिटीको बैठक चाँडै बसेर संगठन र सङ्घर्ष सम्बन्धी निर्णय लिइने क्रान्तिकारी प्रेस संगठनले जनाएको छ । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला, पार्टीको कार्यालय सदस्य दिनेश शर्मा सागर, लगायतले शुभकामना मन्तव्य राख्दै मुलुकको अवस्था जर्जर बनिरहेकोबेला जनपक्षीय पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

नवनिर्वाचित कमिटिलाई भेलाका अतिथिहरू तत्कालीन क्रान्तिकारी पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार इन्द्र राउत र इरातोखबरका सम्पादक एवम् क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी गत वैशाख १८ गते एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल घोषणा भएको थियो ।

दुई पार्टीबीच एकतापछि त्यसका जनवर्गीय तथा शुभेच्छुक संस्थाहरूबिच एकता प्रक्रिया कार्यक्रम जारी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बताए । यसअघि विद्यार्थी, युवा, महिला, मजदुर, बुद्धिजीवी लगायतका जनवर्गीय संगठनका एकता सम्मेलन सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति: Sep 24, 2023

प्रतिक्रिया दिनुहोस्