Logo
५ आश्विन २०८१, शनिबार
(September 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले शिक्षकहरुका मागको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउन जोड दिँदै आन्दोलन जति लम्बिन्छ उत्ति नै मुलुकलाई क्षति पुग्ने बताएका छन् ।

गुरुहरुको गुनासो सुनवाइ गर भन्दै रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ ।’

साथै उनले सरकारले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता टार्न नभई गुनासो सम्बोधन गर्नेगरी गर्नुपर्नेमा जोड दिएका छन् । ‘तसर्थ सरकारले टार्न हैन गुनासाको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउनुपर्छ’, रिमालको भनाइ छ ।

शिक्षक महासंघले संविधान र कानुनको सीमामा रही सम्वादलाई पेशागत हक÷हितमा सीमित गर्नुपर्ने सुझाव पनि रिमालले दिएका छन् । साथै उनले स्थानीय सरकारले राजनीतिक दाउपेचमा शिक्षकहरुलाई प्रताडित गर्न रोक्नुपर्ने र उनीहरुको पेशागत हितका बिषय अक्षुण्ण रहन दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिइनुपर्छ ।’

प्रकाशित मिति: Sep 22, 2023

प्रतिक्रिया दिनुहोस्