Logo
६ आश्विन २०८१, आईतबार
(September 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्राण्डी अस्पतालले भन्यो-वडाध्यक्ष रिजालको निधन निमोनियाबाट

काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।

सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।

‘डेंगुले मृत्यु भएको होइन’

अस्पतालका एक चिकित्सकका अनुसार रिजाल अस्पताल पुग्दाखेरी नै फोक्सोमा गम्भीर असर देखिएको थियो । ‘उहाँ आउँदाखेरि नै फोक्सो कोल्याप्स थियो । डेंगीले त छातीमा असर नै गर्दैन । त्यसले गर्दा डेंगीले मृत्यु भएको हन्ड्रेड पर्सेन्ट होइन ।’

उनलाई अस्पतालमा मेसिनको सहायताले अक्सिजन दिइएको थियो । त्यसपछि घाँटीमा प्वाल पारेर तरल पदार्थ खान दिइएको थियो । तर उनलाई सुधार हुनुको साटो पूरै शरीरमा रगतको संक्रमण फैलिएको थियो ।

वडाअध्यक्ष रिजालको समस्यालाई डाक्टरहरुले ‘सेप्सिस’ भनेका छन् । ‘त्यसमा डेंगी पनि थपियो होला त्यो अलग कुरा हो तर डेंगीले मृत्यु भएको चाहिँ होइन, भाइरल संक्रमणको कारणले हो,’ ग्राण्डी अस्पतालका एक चिकित्सकले अनलाइनखबरसँग भने ।

प्रकाशित मिति: Sep 7, 2023

प्रतिक्रिया दिनुहोस्