Logo
६ माघ २०८१, आईतबार
(September 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : मन्त्री यादव

खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत सम्बन्धमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् ।

मन्त्री यादवले एउटा देशको राजदूतले अर्को देशको विरुद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा विपरीत भएको बताए । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक समेत रहेकाले सम्बन्धको बारेमा राजदूत चेतले यसरी कुरा उठाउन नमिल्ने बताए ।

राजदूत चेन सोङले सोमवार आयोजित एक कार्यक्रममा भारतसँग भइरहेको विद्युत् व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए ।

‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दश अर्बको विद्युत् निर्यात गर्‍यो, जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत् आयात गर्‍यो । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?’ राजदूतले चीनसँग व्यापार गर्न पनि नेपालसँग आग्रह गरेका थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले कोसँग व्यापार गर्ने वा नगर्ने भन्ने निर्णय गर्नमा नेपाल स्वतन्त्र रहेको बताए ।

साथै उनले चीनले आफ्नो नयाँ नक्सामा नेपाली भूभागबारे उल्लेख गर्दा चुच्चे नक्सा नसमेटेकोप्रति पनि असन्तुष्टि पोखे । उनले भने, ‘नेपालको संसदले पारित गरेको, संविधानमा उल्लेख भइसकेको संविधानलाई चीनले मान्यता नदिनु भनेको नेपालको सार्वभौमिकताको अपमान हो ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा नक्सालगायतका विषयमा छलफल हुने उनले बताए । उनले नेपालले छिमेकी मित्र राष्ट्रसँग समान सम्बन्ध राख्न चाहेको बताए ।

प्रकाशित मिति: Sep 6, 2023

प्रतिक्रिया दिनुहोस्