Logo
६ आश्विन २०८१, आईतबार
(September 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद‍्बाट पारित

नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्युत् विकासमा नयाँ रोडम्याप तयार हुने बताएका हुन् ।

‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित हुनु नेपाली बिजुलीका लागि सबैभन्दा ठूलो सम्झौता हो । यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ ।

सुख्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २/३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत् प्राधिकरणको आकलन छ । यस्तो अवस्थामा हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ । यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ ।

यसबाहेक, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लोअरुण र फुकोट कर्णाली परियोजना विकासका लागि सम्झौता समेत भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना विकास सम्झौता (पीडीए) भएको छ भने ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको सम्बन्धमा द्वीपक्षीय सम्झौता (एमओयू) भएको छ ।

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

उता बङ्गलादेशले पनि नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बङ्गलादेशबीच भएको थियो ।

प्रकाशित मिति: Sep 5, 2023

प्रतिक्रिया दिनुहोस्