Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवालाई संसद्को गतिरोध अन्त्यका लागि अग्रसरता लिन सांसदहरूको सुझाव

नेपाली कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् । शुक्रवार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसदमा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेता प्रदीप पौडेलले जानकारी दिए ।

बैठकमा सुन तस्करी प्रकरणबारे समेत छलफल भएको छ । छलफलका क्रममा नेता अर्जुननरसिंह केसीबाहेक बोल्ने अन्य सांसदहरूले राज्यका निकायलाई नै छानबिन गर्न दिनुपर्ने धारणा राखेका छन् । त्यस्तै सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत कांग्रेस सांसदहरूले सरकारले गलत गरेको बैठकमा बताएका छन् ।

‘यो गलत भयो, सरकार प्रतिशोधपूर्ण ढङ्गले प्रस्तुत भएको देखियो । आवाज थुन्ने प्रक्रियाका विपक्षमा कांग्रेस उभिनुपर्छ’, बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूको धारणा थियो । शुक्रवारको करिब १५ जना सांसदले बोलेपछि आइतबार बस्नेगरी बैठक सकिएको छ । आइतबारको बैठकमा जनजीविका सवालमा सांसदहरूले धारणा राख्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले संसद्को अवरोध हटाउने तथा संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक लगायत सात एजेन्डामा छलफल गर्न दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्