Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले मागे सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी सुझाव मागेका हुन् ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी थिए ।

छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिने उनको सचिवालयले जनाएको छ ।

छलफलमा उनले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न पनि निर्देशन दिएका थिए ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्