Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।

स्रोतका अनुसार, दावाले केही चिनियाँ नागरिकहरुलाई होटलको नाममा लिएको गाडी उपलब्ध गराएको पाइएको थियो । ती गाडी पक्राउ परेका दुई चिनियाँ नागरिकसहित अरुले प्रयोग गर्ने गरेको अधिकृतहरु बताउँछन् ।

‘उनीहरुबाट सुन प्रकरणका थप तथ्यहरु खुल्छन् भन्ने अपेक्षा हो’, एक अनुसन्धान अधिकृतले भने ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएका थियो ।

अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्