एकीकृत समाजवादीको बैठकमा वामदेव गौतम र देवी ओझाको चर्चा
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूले पार्टी निरन्तर ओरालो लाग्दै गएकाले आफ्नो राजनीतिक भविष्य नै अन्योलमा परेको भन्दै पार्टी तथा सङ्गठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
पार्टी कार्यालय आलोकनगरमा शनिबारबाट सुरु भएको स्थायी कमिटीको पहिलो दिनको बैठकमा बोल्ने ११ जनामध्ये अधिकांशले यस्तो आशङ्कासहित नेतृत्वले यसबारे के सोचिरहेको छ ? भनेर प्रश्न गरेका हुन् ।
शनिबारको बैठकमा विरोध खतिवडा, बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेको नेता खतिवडाले जानकारी दिए । उनका अनुसार नेताहरूले राजनीति वैचारिक विषय भन्दा पनि आफ्नै भविस्यमाथि चिन्ता गरेको पाएको बताए ।
‘११ जनामध्ये अधिकांशले राजनीतिक वैचारिक भन्दा पनि नेता कार्यकर्ता एमालेमा जाने क्रम बढेको भन्दै यस्तै रहे आगामी निर्वाचनमा पार्टीको हालत के हुने हो र आफ्नो समेत भविष्य के हुन्छ ? भनेर चिन्ता व्यक्त गरेको पाइयो’, खतिवडाले भने, ‘खासगरी दुई निर्वाचनमा आएको परिणामलाई लिएर धेरैले यस्तो गुनासो गर्नुभएको छ ।’
उनले निर्माणाधिन पार्टीमा सुरुवाती क्रममा जे आकलन गरिएको थियो त्यो भन्दा विपरीत नतिजा आएपछि त्यस्तो निराशा आउनु स्वभाविक भएको बताए । ‘म यसलाई स्वाभाविक नै मान्छु । किनभने हामी नेमकिपा वा जनमोर्चाजस्तो पार्टी होइनौं, हामी त समुद्रबाट निस्केको भंगालो जस्तै हौ तर, निर्वाचनमा परिणाम सोचेअनुरुप आएन यसले धेरैलाई निराशा पैदा गरेको देखियो’, खतिवडाको भनाइ छ ।
झण्डै ५० जना स्थायी समिति सदस्य रहेको सो पार्टीका बाँकी सदस्यहरुले आज धारणा राख्नेछन् । बैठकमा प्रत्येक सदस्यलाई १२ देखि २० मिनेटसम्म बोल्न समय दिने गरिएको छ ।
‘एमसीसीले समस्या ल्याउन सक्छ । यो इतिहासको एउटा घाउ रहिरनसक्छ’, बैठकमा खनालले भनेका छन् ।
स्थायी कमिटी सदस्य बलराम बास्कोटाले पार्टी नीति विचार र सिद्धान्तले मात्रै अघि बढ्ने भएकाले हाम्रो पार्टीको नीति र विचारबारे प्रष्ट हुन नसकेको भन्दै आगामी दिनमा यस्तो अन्यौलता हटाउनुपर्ने धारणा राखेका थिए ।
‘पहिला हामीले पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने हिसाबले मात्रै अघि बढ्यौ, पार्टी दर्ता भएपछि अहिलेसम्म राजनीतिक विचारबारे बहस गरेका छैनौ, अव त्यो बहस सुरु गर्नुपर्छ’, बास्कोटाको भनाइ छ । उनले पार्टीमा आउने क्रमभन्दा जाने क्रम बढेको भन्दै यसलाई रोक्ने विधि अवलम्बन गर्न ढिला गर्नुनहुने सुझाव समेत राखेका छन् ।
साथै उनले नेता वामदेव गौतम, देवी ओझा लगायतका नेतालाई पार्टीमा ल्याउन कुनै पहल नभएको भन्दै त्यसका लागि ढोका खोल्नुपर्ने बताए ।
‘वामदेव गौतम देवी ओझाजस्ता मानिसहरु हाम्रो पार्टीमा आउनुपर्छ । उहाँहरूलाई ल्याउने वातावरण तयार गरिएको छैन’, बास्कोटाले बैठकमा भनेका छन् ।
एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको छ । आगामी भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने नेताहरूको भनाइ छ । शनिबारको पहिलो दिनको बैठकमा सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरू भने अनुपस्थित रहेका थिए ।