Logo
७ आश्विन २०८१, सोमबार
(July 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको समन्वयात्मक भूमिका आवश्यक : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सरकारी निकायहरूले समन्वयकारी रूपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए ।

उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताए । उनले करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए ।

उनले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भूमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गरे ।

अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नति गर्नुपर्ने बताए ।

उनले प्रविधिलाई स्तरोन्नति गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रूपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरूले निगरानी गर्नुपर्ने बताए ।

उनले भने,‘विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वयकारी भूमिका हुनुप¥यो र एक अर्कालाई सहयोग पु¥याउनु प¥यो । त्यो भयो भने मात्रै गैरकानूनी गतिविधि कम भएर जान्छ । अपराध गर्ने मनसाय भएका, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । सरकारले भन्सारमा भएको प्रविधिलाई त्यही अनुसार अपग्रेड गर्नुपर्छ ।’

उनले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति: Jul 27, 2023

प्रतिक्रिया दिनुहोस्