Logo
७ आश्विन २०८१, सोमबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी बैठकमा नेताहरूको सुझाव : पार्टीलाई विधान र विधिसम्मत चलाउनु पर्यो

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरूले पार्टीलाई विधान र विधिसम्मत चलाउन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा बोल्दै नेताहरूले पार्टीलाई व्यवस्थित बनाउन लाग्नु पर्ने बताएका हुन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा भएको बखत कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेताहरूले पार्टीलाई प्रणालीगत रूपमा चलाउन सुझाव दिएका हुन् ।

‘पार्टी केन्द्रीय समिति बैठक कसरी प्रभावकारी र फलदायी बनाउने सम्बन्धमा छलफल भयो । बैठकलाई व्यवस्थित बनाउन सुझावहरू आए । पदाधिकारी सबैले आ आफ्नो धारणा राखी रहनु भएको छ ’ पार्टी सचिव गणेश शाहले भने, ‘अधिकांश पदाधिकारीले पार्टीलाई विधान र विधिसम्मत तरिकाले चलाउनु पर्‍यो । पार्टीलाई उत्पादनमा जोड्नु पर्ने सुझाव आएका छन् ।’

सरकार र पार्टीलाई एक आपसमा जोडेर काम गर्नुपर्ने सुझाव दिएको छ । जनवर्गीय संगठन निष्क्रिय हुन थालेको बताउँदै नेताहरूले पार्टीका विभागहरुलाई पूर्णता दिई सक्रिय बनाउन आग्रह गरेका हुन् । पार्टी नेताहरुलाई ७५३ स्थानीय तह र वडासम्म खटाउने विधि बनाउनुपर्ने माग राखेका छन् । सरकारले गरेका राम्रा कामको पार्टी नेता कार्यकर्ताबाट प्रचार नभएको नेताहरूले गुनासो गरेको शाहले बताए ।

पार्टीका अधिकांश पदाधिकारी आफ्नो धारणा राखी सकेका छन् । अब उपाध्यक्ष कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र महासचिव देव गुरुङले आफ्नो धारणा राख्न बाँकी छ । उनीहरुले बेलुका ४ बजे बस्ने पदाधिकारी बैठकमा आफ्नो धारणा राख्ने भएका हुन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव शक्तिबहादुर बस्नेत देश बाहिर छन् । उपमहासचिव गिरिराजमणि पोखरेल बिरामी भएकाले अनुपस्थित भएका थिए । बैठकले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र एजेन्डा तय गर्ने भएको छ ।

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्