Logo
७ आश्विन २०८१, सोमबार
(July 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाडबण्डा मिलाउन नसक्दा सुदूरपश्चिम सरकारले अझै पाएन पूर्णता

कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच महिनाभन्दा बढी भइसके पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डाको सकस, बजेटको लफडा लगायतका कारण अहिलेसम्म सरकार विस्तारमा ढिला हुँदै आएको हो ।

मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको क्रममा उनी काठमाडौँ गएका हुन् । उनी सोमबार धनगढी फर्किने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । धनगढी फर्के लगत्तै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।

माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त शाहले सत्तारुढ गठबन्धनभित्र भाडबण्डा मिलाउन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसके पनि गठबन्धनभित्र भागबण्डा मिलाउन नसकेको हो ।

सत्तारुढ गठबन्धन घटक दल नागरिक उन्मुक्ति पार्टीले सम्मानजनक भागबण्डा नपाएको भन्दै हालसम्म सरकारमा सामेल भएको छैन । तर मुख्यमन्त्री निकट स्रोतका अनुसार मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीले माग राख्दै आएको मन्त्रालय सङ्ख्यामा लचक देखिएका छन् ।

बजेट पारित भएको भोलिपल्ट मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवासहितले प्रदेश प्रमुख देवराज जोशीसँग छलफल गरेका थिए । चाँडोभन्दा चाँडो नाउपालाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिनुपर्ने निष्कर्षमा समेत पुगेको बताइएको छ ।

नाउपाले २ मन्त्रीसहित १ राज्यमन्त्री वा २ मन्त्रीसहित उपसभामुख दिनुपर्ने माग राख्दै आएको छ । त्यस्तै, ४ मध्ये २ संसदीय समितिका सभापति पनि पाउनुपर्ने माग नाउपाको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयको जिम्मेवारी नाउपालाई दिन मुख्यमन्त्री शाह लचक देखिएको स्रोतको भनाइ छ ।

नाउपाको संरक्षक रेशम चौधरी भागबण्डाको विषय मुख्यमन्त्रीले टुङ्ग्याउनुपर्ने बताउँछन् । ‘हामीले आफ्नो सबै दायित्व पूरा गर्दै आएका छौँ । यो सरकारको लागि हामीले कुनै कसर बाँकी राखेका छैनौँ,’ चौधरीले रातोपाटीसँग भने, ‘अब आफ्नो दायित्व इमानदारिता पूर्वक पूरा गर्ने जिम्मेवारी मुख्यमन्त्री तथा सरकारको हो । हामी सरकारमा जान तयार छौँ ।’

गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालयसमेत मन्त्रीविहीन छ । भूमि व्यवस्था मन्त्रालय भने पहिल्यैदेखि रिक्त राखिएको हो ।

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । माओवादीकै गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री छन् ।

यस्तै, नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, यहाँको सभामुखमा नेकपा माओवादी केन्द्रका तर्फबाट भीमबहादुर भण्डारी छन् भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी छन् ।

यहाँ ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दलमध्ये नेपाली कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति: Jul 24, 2023

प्रतिक्रिया दिनुहोस्