Logo
७ आश्विन २०८१, सोमबार
(July 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो ।

उक्त समितिमा सदस्य सचिवको रूपमा अर्का निगमकै निर्देशक पोशक ज्ञवाली रहेका छन् । आवश्यकताका आधारमा उक्त उपसमितिले अरू सदस्यलाई समेत आमन्त्रण गर्न सक्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

सोमबार बेलुका ८ बजे १५८ जना यात्रु बोकेर मलेसिया उडेको वायु सेवा निगम ९एन–एकेडब्लू जहाज मंगलबार काठमाडौँ फर्किने बेला ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको छ । जहाज १७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने सेड्युल रहे पनि अक्सिजनको अभावमा डिले हुन पुगेको छ ।

अक्सिजनको जोहो गरेर जहाज आजै बेलुका ३ बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने प्रवक्ता पौडेलले जानकारी दिएका छन् । तर, जहाजमा भएको के हो ? घटनाको यथार्थ जाँचबुझ गर्न मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको उनले रातोपाटीलाई जानकारी दिए ।

उडान प्रभावित जहाज चरा ठोकिएर ग्राउण्डेड भएको एक हप्तापछि हिजो मात्र मर्मत पश्चात् मलेसियाको उडान भरेको थियो । भारतको बैंगलोरबाट प्राविधिक झिकाएर जहाज मर्मत गरेर बेलुका ८ बजे १५८ यात्रु बोकेर जहाज क्वालालम्पुर उडेको थियो ।

प्रकाशित मिति: Jul 18, 2023

प्रतिक्रिया दिनुहोस्