Logo
८ आश्विन २०८१, मंगलबार
(July 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीको दाबी पेसमा सभामुखलाई गणना नगर्न प्रदेश प्रमुखलाई कार्कीको ध्यानाकर्षण

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखले दिएको समयसीमाको आज अन्तिम दिन राजनीतिक सरगमी बढेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की गत असार १५ गते प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कामचलाउ सरकारको मुख्यमन्त्रीमा रुपान्तरण भएपछि १७ असारमा प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थन लिएर दाबी पेस गर्न समय दिएका थिए ।

प्रदेश प्रमुखबाट दाबी पेसका लागि आव्हान भएपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

गठबन्धनको त्यही निर्णयलाई टेकेर आज कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता थापाले दाबी पेस गर्ने तयारी गरेका छन् । ९३ सदस्यीय प्रदेश सभामा कांग्रेससहितको गठबन्धनमा सभामुअसहित ४७ सांसदको समर्थन छ । जुन बहुमतका लागि प्रर्याप्त हो तर प्रतिपक्षी दल नेकपा एमालेले सभामुखलाई गणना गनै नमिल्ने भन्दै प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण गराएको छ ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सभामुखलाई गणना नगर्न आग्रह गरेका छन् उनले प्रदेश प्रमुखलाई लेखेको पत्रमा भनेका छन् ‘अहिले कोशी प्रदेशसभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानून, संसदीय मूल्य, मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ,’ कार्कीले दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्‍याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु ।’

प्रदेश सभामा ६ सांसद रहेको राप्रपाको साथ नपाएपछि सत्तारुढ गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सभामुख बाबुराम गौतमसहितको समर्थनमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Jul 6, 2023

प्रतिक्रिया दिनुहोस्