Logo
४ माघ २०८१, शुक्रबार
(June 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन १४ गतेका लागि आव्हान

अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेका बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले असार १४ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सरकारले सिफारिस गरेको बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गर्न बैठक आव्हान गर्ने निर्णय गरेको हो । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेशसभाले जेठ १९ गते जसपाले समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएको रेकर्ड कायम गरेको छ । सोही अनुसार कार्कीले असार १७ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेछ ।

कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । काँग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको पहल गरिरहेका छन् ।

प्रकाशित मिति: Jun 26, 2023

प्रतिक्रिया दिनुहोस्