नागरिकता ऐन सम्बन्धी मुद्दामा भएन सुनुवाइ, अब अर्को पेशी तोकिने
सर्वोच्च अदालतमा नागरिकता ऐन सम्बन्धि मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भएको छ ।
यसअघि न्यायाधीश शर्माको इजलासले नै नागरिकता ऐन सम्बन्धि रिट निवेदनमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेकोले सो मुद्दामा सुनुवाई हुन नसकेको हो ।
यसअघि जेठ २१ गते सर्वोच्चका न्यायाधीश शर्माको इजलासले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिको दुबै सदन ( प्रतिनिधि र राष्ट्रिय सभा) ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।