Logo
८ आश्विन २०८१, मंगलबार
(June 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न शीर्ष नेताबीच सहमति

सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय भएको छ ।

मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा दुवै समस्या समाधान गर्नेबारे छलफल भएको एक नेताले बताए ।

‘सत्तारुढ दलमै बजेटबारे देखिएको असन्तुष्टिलाई बजेटमा सक्नेजति मिलाउने र अरू विषयमा पनि मिलाएर अघि बढ्ने भन्ने सहमति भएको छ’, एक नेताले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिनुभएको छ ।’

मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, , कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री तथा कांग्रेस नेता डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट बेनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

नेताहरुले सार्वजनिक रुपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्रीले समस्या सम्बोधनका लागि नेताहरुलाई बोलाएर समस्या समाधानका लागि अग्रसरता देखाएका हुन् ।

‘अहिले सहमतिमा अघि बढ्नुको विकल्प छैन । सोही अनुसार अघि बढ्ने कुरा भएको छ’, अध्यक्ष नेपालले भने, ‘कोशी प्रदेशमा पहिचान पक्षधरले लगातार आन्दोलन गर्दै आएका छन् । त्यसबारेमा पनि सबै बसेर छलफल गर्ने र समस्याको निकास खोज्ने भन्ने भएको छ ।’

कोशी प्रदेशमा सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतले नै कोशी प्रदेशको नाम फेर्नुपर्ने बताउँदै आएका छन् । कोशी प्रदेश नामकरणको विपक्षमा सत्तापक्षकै उक्साहटमा आन्दोलन भइरहेको नेकपा एमालेले बताउँदै आएको छ ।

प्रकाशित मिति: Jun 13, 2023

प्रतिक्रिया दिनुहोस्