Logo
८ आश्विन २०८१, मंगलबार
(June 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई हराएको छ ।

हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ले नेपाललाई ९ रनले हराएको हो ।

पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाइन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् ।

नेपालका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाइन् ।

नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएकी थिइन् ।

१९ औं ओभरमा इन्दु बर्माले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा पुर्णत हाबी भएको थियो । कविता कुँवरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो ।

इन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २/२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: Jun 13, 2023

प्रतिक्रिया दिनुहोस्