Logo
९ आश्विन २०८१, बुधबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सले जेठ २९ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान सुरु गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने जनाएको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलको भनाइ छ ।

निगमले मलेसियाको जोहोरबारुवाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने भएको छ ।

यसपश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट समेत काठमाडौँ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ। यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने एयरलाइन्सले विश्वास लिएको छ ।

भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्