संसदमा रास्वपाको संकल्प प्रस्ताव : भ्रष्टचारीलाई राष्ट्रद्रोहीको मुद्दा लगाऔं
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएको छ। रास्वपाकी सांसद सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।
मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासको बाधक भ्रष्टाचार रहेको भन्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको हो।
सोमबार अपरान्ह दर्ता भएको संकल्प प्रस्तावमा यो प्रकरणमा भ्रष्टाचार, संगठित अपराध र राष्ट्रद्रोहको मुद्दामा निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।
प्रहरीले सार्वजनिक पद र अख्तियारको दुरुपयोग गरी गरेको अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउनुपर्ने समेत संकल्प प्रस्तावमा उल्लेख छ ।
संकल्प प्रस्तावमा भनिएको छ, ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालय समेतका उच्च पदस्थ कर्मचारी र पदाधिकारीले घुस लिएको, सचिव र मन्त्री पदको दुरुपयोग गरेको लगायतका प्रकरणमा रहेका अपराधहरूमा कुनै कसुर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न नेपाल सरकारलाई निर्देशन दिनू।’
यो मुद्दामा भएको अनुसन्धानमा भएको प्रगति र संसदमा उठेको प्रश्नका सन्दर्भमा गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित क्षेत्र हेर्ने आयुक्तले संसद समक्ष सथार्थ जानकारी गराउन पनि निर्देशन दिनुपर्ने उनको माग छ ।