Logo
९ आश्विन २०८१, बुधबार
(May 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोपबहादुर पुर्पक्षका लागि थुनामा नपरे निलम्बन नहुने

bisनक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ ? धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनुपर्नेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा सूचना सुनाउनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८(३) अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन् ।

उक्त नियममा भनिएको छ, ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

प्रतिनिधिसभा नियमावली २०७५ मा सांसदहरु हिरासतमा पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था थियो ।

तर ४ मंसिरको चुनावपछि नयाँ प्रतिनिधिसभा गठन भएपछि प्रतिनिधिसभा नियमावली २०७९ बनाउँदा पुरानो व्यवस्था परिवर्तन गरेर पुर्पक्षका लागि थुनामा गएपछि मात्रै सांसद पदबाट निलम्बन हुने व्यवस्था राखिएको हो ।

नियमावली मस्यौदा समितिमा सांसदहरुले पक्राउ पर्ने बित्तिकै निलम्बन गर्नुपर्ने र अदालतबाट दोषी ठहर भएपछि मात्रै निलम्बन गर्नुपर्छ भन्ने दुई थरि धारणा आएका थिए ।स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पक्राउ पर्ने बित्तिकै निलम्बनमा पर्ने व्यवस्थाको विरोध गरेका थिए । ठूला दलका सांसदहरुले पनि सिंहको भनाइमा समर्थन जनाएका थिए ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले मध्यमार्गी प्रस्तावको रुपमा पुर्पक्षका लागि थुनामा परेपछि सांसद पद निलम्बनमा पर्ने व्यवस्था राख्नु उचित हुने बताएका थिए । जसलाई मस्यौदा समितिले स्वीकार गरेको हो ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी भने हाल निलम्बित अवस्थामा छन् । २०७२ सालमा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोप लागेका महतोलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत जनकपुरले आदेश दिएको थियो । तर कोइरी थुनामा बसेनन्, हाल फरार अवस्थामा छन् । फरार रहेकै अवस्थामा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेका उनी निर्वाचित भएका थिए ।

प्रकाशित मिति: May 15, 2023

प्रतिक्रिया दिनुहोस्