कोसीको बाँध भत्किएपछि बनेको बगरमा गरिएको खेतीबाट लखपति
लगभग १५ वर्षअगाडि सप्तकोसीको बाँध भत्किएपछि आएको बाढीबाट बगरमा परिणत भएको ठाउँमा तरबुजा तथा तरकारी खेती गर्दै कोसीक्षेत्रका किसानले राम्रो आम्दानी गरिरहेका छन् ।
यही खेतीबाट किसानहरूको जीवनस्तरमा सुधार मात्रै आएको छैन, बगरखेतीबाटै आर्थिकरूपमा सफल भएका उनीहरूमा ठूलो जोस, जाँगर पलाएको छ ।
२०६५ सालमा आएको बाढीपश्चात् बगरमा परिणत भएको साविक श्रीपुर गाविस हाल कोसी गाउँपालिका–४, ५ र ६ नम्बर वडाको जमिनमा अहिले हरियाली छाएको छ ।
कोसी गाउँपालिका–६ का जयनारायण मेहताले यसवर्ष ५ बिघा जमिनमा तरबुजा र फर्सी खेती लगाएका छन् । उनी यतिबेला बिहानैदेखि बगरमा जाने र तरबुजा टिपेर व्यापारीलाई बेच्ने काममा व्यस्त हुन्छन् ।
आफ्नै प्रयासमा गरिएको खेतीबाट उनी बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्छन् । ‘कोसीको बाढीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पा¥यो’ मेहता भन्छन्, ‘अहिले त्यही जग्गामा तरबुजा र फर्सीलगायत तरकारी खेती गरेर परिवार पाल्ने, घरखर्च चलाउने मात्रै नभएर छोराछोरी पढाएर केही मात्रामा बचत पनि गर्न सफल भएको छु । मेहताले चैत महिनादेखि तरबुजा बेच्न सुरु गरेकोमा जेठ महिनासम्म ५ लाख रुपैयाँको तरबुजा बिक्री हुने अनुमान गरेका छन् ।’
स्वदेशमै व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशिने क्रम रोकिएको छैन । तर, विदेशबाट फर्केर कोसीको बगरमा मेहताजस्तै कोसी गाउँपालिका–५ का सहाबुद्दिन हक कृषि कर्ममा लागेका छन् ।
सन् २०१० देखि २०१९ सम्म कतारमा बसेका उनी त्यहाँबाट प्राप्त आम्दानी र श्रमबाट सन्तुष्ट नभएपछि गाउँमै आएर कागती खेती गरिरहेका छन् ।
अर्काको भूमिमा पसिना बगाउनुको साटो स्वदेशमै केही गरौं भन्ने ध्येयले गाउँमा एकबिघा जग्गामा कागती खेती सुरु गरेका उनले वार्षिक ८ देखि १२ लाखसम्म कमाउने गरेका छन् ।
चारवर्ष अघिबाट कागती खेती सुरु गरेका सहाबुद्दिन पुनः विदेश जानेबारे सम्झिनसमेत चाहँदैनन् भने अन्य रोजगार नपाएका युवाहरूलाई विदेशिनेभन्दा गाउँमै केही गर्न सुझाव दिने गर्दछन् ।
‘विदेशमा अरूको आदेशविना केही पनि गर्न पाइँदैन’ कतारमा बस्दा भोगेको दुःख पोख्दै उनले भने, ‘त्यसैले पुनः विदेश जानेबारे सोच्नसमेत मन लाग्दैन र अरूलाई पनि त्यस्तै कुरा सम्झाउने गरेको छु ।’ गाउँमा काम छैन भनेर उता जाने साथीहरूलाई विदेशमा गरेको मेहनत यहीँ गरे पनि राम्रो पैसा कमाउन सकिने सुझाव दिने गरेको उनी बताउँछन् ।
२०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएपछि बालुवामय जग्गामा कागती खेती थालिएको हो । १५ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएकोमा उल्लेखनीय सुधार आएको थिएन ।
राजस्थान मोडेलको खेतीसमेत भनिएको उक्त बालुवामय जग्गामा सहाबुद्दिनसँगै कोसी गाउँपालिका–५ का स्थानीय किसान असगर अलीले दुई बिघामा, मोहम्मद युसुफले १० कठ्ठामा, मजहरुल मियाँले १ बिघामा, अशोक अलीले १० कठ्ठामा र ऐनामुल हकले ५ कठ्ठा जग्गामा नमुना कागती खेती गरिरहेका छन् ।
बालुवामय जग्गामा स्थानीय तह र जिल्ला कृषि ज्ञान केन्द्रको सहयोगमा नमुना कागती खेती सुरु गरिएको हो । बालुवामय जग्गा सदुपयोग गर्ने उद्देश्यले गरिएको राजस्थान अवलोकन भ्रमण उपलब्धिमूलक भएको किसान असगर अलीको कथन छ ।
कोसी गाउँपालिका क्षेत्रका जग्गा बालुवामय भएको अवस्थामा राजस्थानका कृषिविज्ञहरूले माटो परीक्षणपश्चात् अनार, लौका, कागती, बदाम, बयर खेती हुनेबारे जानकारी गराएपछि स्थानीय किसानरूले कागतीसँगै विभिन्न स्थानमा त्यस्तो खेती गरेका छन् ।
भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गरिएकाले किसानहरूको जीवनस्तर उकास्न सहज भएको कोसी गाउँपालिका कृषि शाखा प्रमुख सुनिल यादव बताउँछन् ।
कोसी क्षेत्रका किसानले कृषि आधुनिकीकरण योजना अन्तर्गत गरेको कागती खेती प्रभावकारी बन्दै गएको उनले बताए । सुनसरीको साविक श्रीपुर, हरिपुर, पश्चिम कुशाहा र लौकही गरी चार गाविसका ३५ हजार घरपरिवार बाढीबाट प्रभावित भएका थिए ।
ती क्षेत्रमा अहिले पनि सयौं बिघा जग्गा बाँझो छ ।
घर खर्चसँगै बचत
कागती खेती सुरु गर्दा कोसी गाउँपालिका-५ का अशोक अलीलाई त्यतिबेला कागती बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो । तर, आजभोलि उनलाई पु¥याउन नै मुस्किल भएको छ ।
अघिल्लो वर्ष उनले कागती बेचेर १० लाख आम्दानी गरे । त्यसमध्ये ६ लाख खर्च कटाएर ४ लाख बचत गरेको अलीले बताए । तरकारी र खाद्य बालीभन्दा बढी फाइदा हुँदा पछिल्लो समय कागती खेतीतर्फ स्थानीय आकर्षित भएका छन् ।
असारदेखि साउन, कात्तिकदेखि मङ्सिर र माघदेखि चैतसम्म कागती टिप्ने गरिएको किसान अलीले बताए । डेढबिघा जग्गामा कागती खेती गरेका सहाबुद्दिनले गतवर्ष कागती बेचेर १२ लाख आम्दानी गरेपछि घरपरिवार चलाउनेदेखि अन्य खर्च टार्न समस्या नभएको बताउँछन् ।
‘विदेशमा जति दुःख गरेपनि मुस्किलले २० देखि २५ हजारसम्म कमाइ हुन्थ्यो’ उनले भने, ‘त्यति पैसाले न घरखर्च पुग्थ्यो, न त अन्य खर्च । तर, गाउँमै कागती खेती सुरु गरेपछि मासिक ८० हजारदेखि १ लाखसम्म आम्दानी हुने गरेको छ । जसले गर्दा खर्चसँगै बचतसमेत गरिरहेको छु ।’
ब्लाष्ट टाइम्स दैनिकबाट साभार