पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो ।
प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
यसैबीच यसै प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।
०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप-१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।
दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।
आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए ।