यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै
एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।
समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।
नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न जोर्डनलाई हराउनैपर्नेछ । इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको अनुकूल नतिजा आउनुपर्नेछ । बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता दोस्रो चरणमा पुग्नेछन्, जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछन् ।
आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।