Logo
५ माघ २०८१, शनिबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफन्तसँग लेनदेन विवादपछि विराटनगरमा एक पुरूषले आफ्नै शरीरमा आगो लगाए, अवस्था गम्भीर

राज मेहता, विराटनगर :

कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार बिहान १ जना वृद्ध पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । आगोले शरीरका अधिकांश भाग जलेका वृद्धको अवस्था गम्भीर छ ।

मोरङको लेटाङ नगरपालिका-७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले बिहान १०:४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार वृद्ध नेपालको आफन्तसँग लेनदेन विवाद रहेको पाइएको छ । ‘नातामा बहिनी पर्ने आफन्तलाई लामो समयअघि पैसा सापटी दिएको जानकारी आएको छ ।

त्यो पैसा उठाउन वृद्ध पटक-पटक बहिनीको घर आइरहने गरेको पनि पाइयो,’प्रहरीका एक अनुसन्धान अधिकृतले भने,‘तर, बहिनीबाट फिर्ता नपाएपछि दुई पक्षबीच यसअघि पनि भनाभन हुने गरेको रहेछ ।  त्यही पैसा उठाउन जाने क्रममा विवाद भएपछि शरीरमा पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने अनुमान छ ।’

पटक-पटक जाँदा पनि फिर्ता नपाएपछि पैसा सापटी लगेकी बहिनीकै घरनजिक वृद्धले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले पैसा सापटी लैजाने बहिनीका बारेमा थप खुलाएको छैन । यद्यपि,अनुसन्धानको दायरा फराकिलो पारेर पृष्ठभूमि केलाउँदै घटना हुनुको कारण पत्ता लगाउने प्रयास भइरहेको डीएसपी दाहाल बताउँछन् ।

उनका अनुसार सुरुमा वृद्ध ग्यालेनमा पेट्रोल लिएर आएको खुलेको छ । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि पेट्रोल आफ्नै शरीरमा छर्किएर एक्कासी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दाहालले बताए ।

आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ ।

साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा वृद्धको पहिचान खुलेको हो । झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्