Logo
९ आश्विन २०८१, बुधबार
(April 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान १० बजेसम्मको अपडेट : तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए ।

उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ।

सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेकोजिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको उनले बताए।

त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ ।

उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

यसैगरी बारा २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएको जानकारी एसपी बोगटीले दिए ।

 

प्रकाशित मिति: Apr 23, 2023

प्रतिक्रिया दिनुहोस्