Logo
११ आश्विन २०८१, शुक्रबार
(April 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई कम्युनिस्ट पार्टीबीच एकता गर्ने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ ।

पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जानकारी दिए ।

उनले, ‘आजको दिन धेरै खुसीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपि यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान् ऐतिहासिक अभियान हो । त्यसकारणले हामीलाई धेरै खुसी लागेको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताए ।

प्रकाशित मिति: Apr 7, 2023

प्रतिक्रिया दिनुहोस्