Logo
११ आश्विन २०८१, शुक्रबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टंगालमै रोकिए मिटरब्याजी पीडित, माग सम्बोधन गर्ने गृहका प्रतिनिधिको आश्वासन

मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको टोली टंगाल पुगेर पीडितका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’ उनले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् । साथै उनले पीडितहरूले प्रधानमन्त्रीलाई भेट्ने चाहाना राखेकाले त्यसको समन्वयका लागि समेत आफूले पहल गर्ने बताए ।

‘उहाँहरूले आफ्ना समस्या प्रधानमन्त्रीलाई जाहेर गर्ने भन्नुभएको छ, त्यो भन्ने बित्तिकै सम्भव हुँदैन । म अहिले सम्माननीय प्रधानमन्त्रीलाई भेट्दै छु, भेट्दा उहाँहरूको कुरा जाहेर गर्छु’, शर्माको भनाइ छ ।

११ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका पीडितहरू मंगलबार बिहानै प्रधानमन्त्री भेट्ने भन्दै बालुवाटार हिँडेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ । प्रहरीले बालुवाटारतर्फ जान नदिएपछि पीडितहरू टंगालमै धार्नामा बसेका हुन् । बिहान दश बजेसम्म टंगालमा धर्ना दिएका उनीहरू अहिले भद्रकालीतर्फ फर्किरहेका छन् ।

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्