Logo
११ आश्विन २०८१, शुक्रबार
(March 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई सफल प्रधानमन्त्री बन्नु छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सामूहिक विवेक प्रयोग गरेर देशको आर्थिक सङ्कट समाधान गर्ने बताएका छन्।

मुलुकमा देखा परेका आर्थिक सङ्कट समाधानका लागि आफूले केही दिनअघि मात्रै सरोकारवालाहरूसँग छलफल सुरु गरेको बताएका छन् । केही दिनभित्र ती समस्याको समाधान प्रक्रियासमेत अघि बढाउने उनले बताए ।

सोलुखोला–दूधकोकी जलविद्युत आयोजनाको मङ्गलवार काठमाडौँबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासनसमेत दिए। त्यसका लागि अध्ययन र अनुसन्धान धेरै अघि बढिसकेको उनको जिकिर थियो।

‘पेट्रोल र तेलकै कुरा गर्ने हो भने पनि यसको उत्पादनको सम्भावना पनि अब हामी धेरै अगाडि बढिसकेका छौँ अध्ययन, अनुसन्धानमा। र, छिट्टै तेल उत्पादन हामीले गर्न सक्छौँ भन्ने विश्वास बिस्तारै बिस्तारै बढ्दै पनि छ,’ उनले भने । आफूलाई असफल प्रधानमन्त्री हुने छुट नरहेको पनि उनले दोहोर्‍याए।

‘मैले प्रधानमन्त्रीका रूपमा यो पटक असफल हुने छुट बिल्कुल छैन। पूरै इमान्दारीसाथ, गम्भीरताका साथ देशका अगाडि देखा परेका समस्या समाधान गर्ने, देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको निम्ति सम्पूर्ण तागत लगाउनुको विकल्प छैन,’ उनले भने‚‘२ दिनअगाडि मात्रै मैले नेपाल राष्ट्र बैङ्क, अनि बैंकिङ एशोसिएशनसँग सम्बन्धित पदाधिकारी तथा लघु वित्त, सहकारीलगायत व्यवसायी सङ्घ, संस्थाका प्रतिनिधिहरूलाई राखेर छलफल सुरु गरेको छु। सबैको सामूहिक विवेक प्रयोग गरेर अहिले देखा परेका समस्याहरू समाधान गर्ने उपायहरू निक्लिँदै छन् र मलाई विश्वास छ–केही दिनभित्रै हामीले यो समस्या समाधानको प्रक्रिया अघि बढाउनेछौँ।’

प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने सङ्केत देखा परेको दाबीसमेत गरे। मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै उनले विद्युत् बेच्न सरकारले भारत र बङ्गलादेशसँग पनि सहमति गरेको स्मरण गराए।

उनले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको समेत बताए। डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढ्न नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङले सल्लाह दिएको र सोहीअनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘अहिले म तेस्रो पटक देशको नेतृत्व लिँदै गर्दा अब हामी विद्युतमा आत्मनिर्भर हुने दिशातिर र विद्युत् खपत बढाउनुपर्ने आवश्यकतातिर छौँ,’ उनले भने, ‘विद्युत् उत्पादनभन्दा अब उत्पादित विद्युत् देशभित्रै बढीभन्दा बढी खपत गर्ने वातावरण कसरी बनाउने भन्नेतिर हामीले सोच्नुपर्ने समयमा आइपुगेका छौँ भने अर्कोतिर, विद्युत् व्यापार गर्ने, विद्युत् बिक्री गर्ने र त्यसबाट राष्ट्रिय आम्दानी गरी व्यापार असन्तुलन घटाउन सकिन्छ भन्ने एउटा नयाँ सङ्केत देखिएको छ।’

प्रकाशित मिति: Mar 8, 2023

प्रतिक्रिया दिनुहोस्