Logo
१२ आश्विन २०८१, शनिबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालाजु घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्छौ : प्रजीअ उपाध्याय

बालाजु स्थित नयाँ बसपार्क र माछा पोखरीमा भएको घटना स्थानीय प्रशासनले छानबिन गर्ने भएको छ । नयाँ बसपार्क भित्रको घटना र यातायात मजदुरले माछा पोखरीमा गरेको प्रदर्शनमा भएका अवाञ्छित गतिविधि छानबिन गरिने काठमाडौँका सिडिओ घनश्याम उपाध्यायले बताए ।

ल्होत्से बहुउद्देश्यीय प्रालिको व्यवस्थापनमा रहेको नयाँ बसपार्कमा सोमबार यातायात मजदुरले कार्यक्रम गर्न खोज्दा ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर सङ्गठनहरूले जिकिर गरेका छन् । आफ्ना १० बुँदे मागबारे जानकारी गराउन कार्यक्रम गर्न खोजिएको मजदुर सङ्गठनहरूले बताएका छन् ।

फागुन १ मा माछा पोखरीमा मजदुरहरूले गरेको प्रदर्शनको क्रममा प्रहरीको दुई वटा गाडी जलेका छन् । ल्होत्से मलको मोबाइल पसल आन्दोलनकारीले लुटेका छन् ।

प्रदर्शनमा इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । कुटपिट र आगजनीबारे छानबिन गरिने प्रजीअ उपाध्यायले जानकारी दिए ।

गाडी आगजनी, प्रहरीमाथिको आक्रमण र मोबाइल लुटबारे काठमाडौँ प्रहरीले छानबिन गर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।

मङ्गलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि मजदुर सङ्गठनहरूले उपत्यकामा सार्वजनिक सवारी नचलाउने निर्णय फिर्ता लिएका छन् । उप-प्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकपछि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले आन्दोलनको कार्यक्रम फिर्ता लिने बताएका हुन् ।

यातायात क्षेत्र सुधार समिति पहिले नै बनेको हुनाले सो समितिको प्रतिवेदनका आधारमा थप सुधार गरिने सरकार र यातायात मजदुर सङ्गठनबिच सहमति भएको छ ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्