Logo
७ माघ २०८१, सोमबार
(February 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

“सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उनले भने, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्याउने विश्वास छ ।” उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे ।

“एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ”, उनले भने, “यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।” दोधारा–चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ ।

प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी÷खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् ।

आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरिक्षण गरेका थिए ।

प्रकाशित मिति: Feb 13, 2023

प्रतिक्रिया दिनुहोस्