Logo
१४ आश्विन २०८१, सोमबार
(January 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन

गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरा पालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।

लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौँलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरा पालन धराशायी भएको गुनासो गरे ।

भारतीय मासु तथा चल्लाहरू निर्बाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैङ्कको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यवसायी पलायन भइसकेको र ठुला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए ।

चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ । त्यसमा पनि उत्पादन भएका आधा चल्ला बिक्री गर्न समस्या भएको व्यवसायीहरू बताउँछन् ।

भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको व्यवसायीहरूको बताउँछन् । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेसा भएको मासु आउने गरेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति: Jan 12, 2023

प्रतिक्रिया दिनुहोस्