Logo
१४ आश्विन २०८१, सोमबार
(January 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी अघि बढ्यो

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी अघि बढाएको छ । राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि चुनाव गराउनुपर्ने प्रावधान रहेकोले त्यसको लागि प्रारम्भिक तयारी अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै सोको निर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुण २९ मा सकिने भएकोले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउनुपर्ने स्थिति रहेको छ ।

आयोगले सोहीअनुरूप मिति तोक्ने विषयमा छलफल शुरू गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिँदै भन्नुभयो– ‘कानुनतः आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।

त्यसपछि आयोगले क्रमशः निर्वाचन कार्यतालिका प्रकाशन गर्ने, मुख्य निर्वाचन अधिकृत तोक्ने मतदान अधिकृत र मतगणना अधिकृतसहितका कर्मचारीहरूलाई प्रशिक्षण दिने छन् ।’

राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच÷पाँचजना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ ।आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्र काठमाडौंमा बनाउने भएको छ । संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टा–छुट्टै मतदान केन्द्रको व्यवस्था गर्ने आयोगले जनाएको छ ।

निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ । त्यसमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

संविधानको भाग ६ को उपधारा ५ अनुसार कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस मतदानमा कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार आगामी ५ वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ ।निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । उपराष्ट्रपतिको निर्वाचन पनि राष्ट्रपति निर्वाचनकै प्रक्रियाअनुसार नै हुनेछ ।

प्रकाशित मिति: Jan 1, 2023

प्रतिक्रिया दिनुहोस्