Logo
१० मंसिर २०८१, सोमबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक मुद्रा आम्दानीका स्रोतमा वृद्धि, रेमिटेन्स नै २० प्रतिशतले बढ्यो

लामो समय वृद्धि लगभग स्थिर देखिएको रेमिटेन्समा उच्च सुधार देखिएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म) को तथ्यांक अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा २०.३९ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो।

गत वर्षको कात्तिकमा तीन खर्ब १४ अर्ब बराबर रेमिटेन्स भित्रिएकोमा यसपटक तीन खर्ब ७८ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो।

वैदेशिक रोजगारीको लागि जानेको संख्या समेत यो चार महिनामा उच्च दरमा बढेको छ। वैदेशिक रोजगारीमा जाने नयाँको संख्या एक सय दुई प्रतिशतले बढेको छ भने भिषा पुनःनविकरण गरेर जानेको संख्या पनि ९२ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष ९६ हजार तीन सय ८२ जना पहिलो पटक वैदेशिक भ्रमणमा गएमा थिए भने यसपटक एक लाख ९५ हजार पुगेको छ।
त्यस्तै, गत वर्ष भिषा नविकरण गरेर जानेको संख्या ५९ हजार सात सय २३ रहेकोमा यसपटक ८७ हजार चार सय २८ रहेका छन्।

मुलुकमा पर्यटकहरूको आगमनमा समेत वृद्धि भएको छ भने उनीहरूबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ।

गत जनवरीदेखि नोभेम्बरसम्ममा पाँच लाख ४२ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। उनीहरूबाट राज्यले प्राप्त गर्ने आम्दानी एक सय ३७ प्रतिशतले बढेर १७ अर्ब ९५ करोड पुगेको छ।

मुलुकको विदेशी मुद्राको स्रोतको रूपमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमा भने खासै सुधार देखिएको छैन। गत वर्ष ६ अर्ब ८८ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा यो वर्ष दुई अर्ब २३ करोड मात्रै भित्रिएको छ।

एक अर्ब ८० करोड रूपैयाँ भने लाभांशसहित लगानी फिर्ता भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी मात्रै ४२ करोड रहेको छ। वैदेशिक अनुदान भने एक सय ३२ प्रतिशतले बढेर सात अर्ब २९ करोड पुगेको छ।

विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा सुधार भएसँगै मुलुकको विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भएको छ। कुल विदेशी विनिमय सञ्चिति गत असोजमा १२ खर्ब १५ अर्ब रहेकोमा कात्तिकमा भने बढेर १२ खर्ब ४६ अर्ब रूपैयाँ रहेको छ।

अमेरिकी मुद्रामा समेत यस्तो सञ्चिति केही बढेको छ। यस्तो सञ्चितिले आठ महिना १२ दिनको वस्तु तथा आयात धान्न सक्ने अवस्था छ। असोजमा यस्तो सञ्चितिले आठ महिना नौ दिनको आयात धान्ने अवस्था थियो।

विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा भएको वृद्धि, आयातमा भएको कटौतीले मुलुकको आम्दानी र खर्च बीचको सन्तुलन (भुक्तानी सन्तुलन वा शोधानान्तर) बचतमा रहेको छ। शोधानान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा छ।

आयातमा भने गत वर्षको तुलनामा १८.१ प्रतिशतले कमी आएर पाँच खर्ब ३२ अर्बमा सीमित भएको छ।

तर, विदेशी मुद्रा आर्जनको स्रोत निर्यात पनि ३३ प्रतिशतले घटेर ५४ अर्बमा सीमित भएको छ। तर, मुलुकबाट अध्ययन र यात्राको नाममा विदेशी मुद्रा बाहिरीने क्रममा समेत वृद्धि भएको छ।

अध्ययन र भ्रमणको लागि बाहिरीने रकम ६३ प्रतिशतले बढेको छ। यी दुई नाममा ३३ अर्ब रूपैयाँ मुलुकबाट बाहिरीनेछ।

प्रकाशित मिति: Dec 15, 2022

प्रतिक्रिया दिनुहोस्