Logo
८ मंसिर २०८१, शनिबार
(December 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराइसकेको कपास खेती जगाउँदै हलेसीका महिला

पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ ।

नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६–०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेती लगाएका छन् ।

नेपाली पहिचान झल्काउने दौरासुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रूपमा सवल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुनर्जागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।

कात्तिकेभन्दा केहीमाथि पर्छ त्रि–धार्मिकस्थल हलेसी । हलेसीमा लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने गरिन्छ । कपासको काँचो धागो उत्पादन गरेर त्यही हलेसीमा बिक्रीवितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ । ‘लोप भइसकेको कपास खेतीलाई पुनर्जागृत गर्नुको अर्थ यसलाई पहिचान र पैसासँग जोड्ने प्रयत्न हो,’ मेयर राईले भनिन्, ‘दौरा सुरुवालले देशको पहिचान झल्काउँछ । त्यसको कपडा र काँचो धागो बिक्री गरेर पनि आम्दानी लिन सकिन्छ । संस्कार संस्कृति पनि बच्यो, आम्दानी पनि हुने भयो ।’

किरात राई समुदायमा पुर्खा तायामा र खियामाले तुवाचुङमा कपास खेती गरेर कपडा बुनेर लुगा लगाउने चलन सुरु गरेको किंवदन्ती छ । बाबुबाजेको पालासम्म कपासबाट खाँडीका कपडा उत्पादन गरिन्थ्यो । करिब चार पाँच दशकसम्म धेरैजसो घरमा खाँडी तयार हुन्थ्यो । खाँडीकै चोली, फरिया, दौरा सुरुवाल, भोटो बनाइन्थ्यो । तर बजारमा थरिथरिका कपडा आउन थालेपछि खाँडीका कपडा बुन्ने प्रचलन क्रमशः हराउँदै गए । लोपोन्मुख बनिसकेको खाँडीको पुरानो तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । गाउँघरमा बाजेबजुले ‘कुटी कुटी धागो काट्न र पला बनाउन लगाएको प्रसंग अहिले पनि सुन्न पाइन्छ ।

पछिल्लो समय सबैले खाँडीको दौरा सुरुवालको महत्व बुझ्न थाले । नेपाली पोसाक दौरासुरुवालप्रति युवा पुस्ताले चासो राख्न थाले । त्यहीबेला नगरपालिकाले सहयोग गरेपछि कपास खेती सुरु गरिएको जुनतारा आमा समूहकी कोषाध्यक्ष जुना राई बताउँछिन् ।

‘पहिला कपडा पाइन्नथ्यो । कपासको कपडा बनाएर लगाउने गरिन्थ्यो । पछिबाट बजारमा परिपरिका कपडा आउन थाल्यो । धागो निकाल्नु, धागो बनाउनु, दाना फाल्नु । नोमेक बढी लाग्ने र झन्झटिलो काम भनेर छाडियो,’ जुनाले भनिन्, ‘अहिले दौरासुरुवालको महत्व बढ्न थाल्यो । युवा पुस्ताले पनि मन पराउन थाले । हाम्रो बारीमा उत्पादन गरेर आफैले बुनेर लगाउन सकिन्छ भनेर फेरी कपास खेती सुरु गर्‍यौं । हाम्रो पहिलाको कल्चर पनि झल्काऔं न त भन्ने लाग्यो ।’

दुईवटा आमा समूहमा आवद्ध ६५ महिलाले प्रतिघर एकदेखि दुई रोपनीका दरले कपास खेती लगाएका छन् । नगरपालिकाको ११ वडामध्ये कात्तिकेमा मात्र व्यावसायिक रुपमा कपास खेती लगाइएको हो । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको जुना बताउँछिन् । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । खाँडीको माग बढिरहेका बेला कपास खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाउने सपना साँचेको स्थानीय समला राई बताउँछिन् । कपास खेती सुरु गरेका महिलालाई खाँडीको कपडा बुन्ने तालिम दिने नगरको योजना छ ।

कपास खेती प्रवद्र्धनका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनका लागि एक लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७७–०७८ मा १० लाख बिनियोजन गरेको नगरपालिकाले चालू आर्थिक वर्ष २० लाख बिनियोजन गरेको छ ।

जसले छाडेनन् तान 

हिजोआज कपास खेती गर्ने र त्यसको कपडा बुन्ने सीप भएका महिला एकादुई छन् । बजारमा सस्तो मूल्यमा थरिथरिका लुगा पाउन थालेपछि सबैले तान बुन्न छाडे । सबैले खाँडी बुन्ने तानलाई छाड्दा महादेवस्थान कात्तिकेकी जुनासरी राईले भने निरन्तर तान सम्हाल्दै आएकी छन् । ७९ वर्षकी जुनासरीले आफै कोगटी र ढ्यांग्रे प्रजातीको कपास खेती गरेर कपडा बुन्ने गरेकी छन् । जुनासरीले गाउँमा उत्पादित कोगटीको कपास प्रतिधार्नी एक हजार र ढ्यांग्रे कपास प्रतिधार्नी सात सयमा खरिद गर्ने गरेकी छन् । तान बुन्ने सीपको संरक्षणका लागि जुनासरीले नातिनी भविकला राईलाई पनि तान बुन्न सिकाइसकेकी छन् ।

दौरा सुरुवालका लागि कपासको कपडाको माग उच्च छ, त्यसमा पनि ग्राहकको रोजाइमा कोगटीको कपडा पर्छ । कोगटीको दौरासुरुवालको कपडा प्रतिथान २० हजार र टिंग्रे कपासको प्रतिथान १५ हजारमा किनबेच हुनेगरेको महादेवस्थानका पूर्ववडाध्यक्ष चइन्द्र राई बताउँछन् । कात्तिकेकी बिन्द्रासरी राईले पनि हिउँदमा खाँडी बुन्ने गरेकी छन् । कतिपय खाँडीको कपडा बुन्ने सिप भएका तर तान नबुन्ने महिला पनि छन् । ‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो र बढी मिहिनेत चाहिन्छ,’ पूर्ववडाध्यक्ष राईले भने, ‘तर कोगटीको कपडाको बढी नै माग छ । माग धान्नै गाह्रो देखिन्छ ।’

प्रकाशित मिति: Dec 14, 2022

प्रतिक्रिया दिनुहोस्