Logo
११ माघ २०८१, शुक्रबार
(December 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि कार्यान्वयनमा

स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङकाे देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएकाे हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो झण्डोत्तलन गर्ने कार्यक्रम छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने छ ।

दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो ।

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन् ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ ।

यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मुल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण भएका छन् । यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा प्रदेश राजधानीको संरचना बनाइएको छ । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालय यही परिसरमा रहने छन् ।

यस्तै प्रदेशसभा भवन पनि यहीँ स्थापना भएको छ । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भइसकेको छ ।

प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी भएको छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिगाह जग्गामा साना–ठूला गरेर ४० वटा भवन छन् । ती भवनलाई मर्मत गरी राजधानीको संरचना तयार पारिएको हो ।

प्रकाशित मिति: Dec 14, 2022

प्रतिक्रिया दिनुहोस्