Logo
९ माघ २०८१, बुधबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ : प्रदेशसभाका ५६ प्रत्यक्ष सिटमा १३ पुरानै अनुहार, मन्त्रीहरु नै पराजित

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फका ५६ सिटमा ४३ जना नयाँ अनुहार निर्वाचित भएका छन् । सम्पन्न भएको प्रदेश १ को मतगणनाको अन्तिम मतपरिणाम अनुसार प्रदेशसभाको पहिलो कार्यकाल सकाएर दोस्रो पटक निर्वाचन लडेका २७ सांसद मध्ये १३ जनाले पुन: चुनाव जितेका हुन् ।

प्रदेशसभा सदस्यमा दोस्रो पटक चुनाव जित्नेमध्ये सवैभन्दा धेरै नेकपा एमालेका छन् । एमालेबाट दोहोरिएर उठ्ने उम्मेदवार पनि १४ जना थिए । उनीहरू मध्ये ९ जना दोस्रो पटक पनि निर्वाचित भएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य रहेका हिक्मतकुमार कार्की झापा ५ (२) बाट दोहोरिएका हुन् । कार्की एमालेबाट चुनाव जित्ने पार्टीको सवैभन्दा माथिल्लो तहका नेता हुन् ।

झापा २ (१) बाट एकराज कार्की, सोलुखुम्बु (२) बाट संसदीय दलका पूर्व प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, धनकुटा (१) बाट निरन राई, (२) बाटै इन्द्रमणि पराजुली, इलाम २ (२) बाट रामबहादुर मगर फेरि प्रदेश सांसद बनेका छन् ।

मगर पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन् । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मोरङ २ (२) बाट पुन: निर्वाचित भएका छन् ।

एमालेबाट दोहोरिएर चुनावमा उठ्ने पूर्व भौतिक योजनामन्त्री अम्बिरबाबु गुरूङ, पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री उत्तमकुमार बस्नेत, सांसदहरू बसन्तकुमार बानियाँ र तेजमान कन्दङ्वा पराजित भएका छन् ।

नेपाली कांग्रेसबाट दोस्रो पटक चुनावी मैदानमा उत्रिएका संसदीय दलका पूर्व नेता राजीव कोइरालाबाहेक पूर्व उपनेता हिमाल कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की निर्वाचित भएका छन् ।

हिमाल उदयपुरको प्रदेशसभा १ (२) र केदार मोरङको ६ (२) बाट चुनिएका हुन् । माओवादी केन्द्रका संसदीय दलका पूर्वनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनी पाँचथर (२) बाट निर्वाचित भएका हुन् । माओवादीकै नारायणबहादुर मगर उदयपुर २ (१) बाट प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका छन् ।

प्रदेश १ मा माओवादी केन्द्रबाट पुन: उम्मेदवार बनेका आङ्बो र मगर बाहेक कुशल लिम्बू, कुसुमकुमारी श्रेष्ठ, पूर्णप्रसाद राजवंशी, सरस्वती पोखरेल र झलकसिंह मगर भने पराजित भएका छन् ।

पोखरेल प्रदेशसभाको संस्थापक उपसभामुख पनि हुन् । त्यस्तै पराजित भएका मगर प्रदेश सरकारका कृषिमन्त्री हुन् । जनता समाजवादीका नेता एवं सरकारका स्वास्थ्यमन्त्री जयराम यादव पनि पराजित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू निर्वाचित भएका छन् ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री समेत रहेका नेकपा एसका उपेन्द्रप्रसाद घिमिरे र प्रदेशसभा सदस्य सरिता खड्का पराजित भएकी हुन् ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्