Logo
१० माघ २०८१, बिहीबार
(October 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछरौं : विष्णु पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनकाे भनाइ छ ।

बुटवल-११ युद्धनगरमा साेमबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले यहाँका जनतालाई अतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको उनले बताए । महत्वकांक्षी र ठूला विकासका आयेजनामा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने उल्लेख गरे । यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।’

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्नेगरी बृहत् रहेको उल्लेख गरे । रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी पनि गरे ।

एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । विगतमा आफूले सुरु गरेका योजनालाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने उनले दाबी गरे ।

प्रकाशित मिति: Oct 31, 2022

प्रतिक्रिया दिनुहोस्