Logo
११ आश्विन २०८१, शुक्रबार
(August 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने तीन जना पक्राउ

हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी उनीहरुले २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले सोही नागरिकताको आधारमा सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति: Aug 18, 2022

प्रतिक्रिया दिनुहोस्