Logo
९ आश्विन २०८१, बुधबार
(July 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थनगरका मेयरको पहलमा तीनजना नगरवासीले गरे हज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका थिएनन् । नगर प्रमुख खानलाई केही विपन्न वर्गका व्यक्तिहरूको हज गर्ने इच्छा भए पनि इच्छा मारेर बसेको जानकारी भएपश्चात उनले व्यक्तिगत पहलमा तीनै जनालाई निःशुल्क हज गर्न जाने व्यवस्थापन मिलाइदिएका हुन् ।

‘म हज गर्न चाहेको थिए तर केही कारणले जान सकेको थिएन’ हज गरेर स्वदेश फर्किने तयारीमा रहेका सिद्धार्थनगर नगरपालिका-६ का हाजी सहजादे मुसलमानले भने, मेयर सा’बका कारण आफ्नो जीवनकै सबैभन्दा पुनित कार्य गरेकोमा खुसी छु र उहाँप्रति आभार प्रकट गर्दछु ।’ उनी जस्तै अन्य दुई जना निजामुद्दिन मियाँ र नियाज मुसलमान पनि उत्तिकै हर्षित छन् ।

तीन जनाको हज यात्राका लागि कुल १३ लाख ९० हजार एक सय १९ रुपैयाँ लागेको लागत नगर प्रमुख खानले व्यक्तिगत पहलमा व्यवस्थापन मिलाइदिएका हुन् । जसकारण साउदी अरेबियामा आफुहरुलाई खान, बस्न, हवाई टिकट, लगायतमा कुनै किसिमको समस्या नपरेको उनीहरुले बताए ।

ईस्लाम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक हो ।

इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ ।

हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सात पटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज (कावा) प्राप्त हुन्छ । बकरईद पर्वका दिन विशेष नमाज पढी पशु जनवारको कुर्वानी दिने चलन छ । हजयात्रा गरी आउने व्यक्तिलाई हाजी भन्ने गरिन्छ ।

मुस्लीममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग (जन्नत) जाने सरह पूण्यफल प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउनुका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निष्छल र पवित्र हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: Jul 28, 2022

प्रतिक्रिया दिनुहोस्