Logo
८ आश्विन २०८१, मंगलबार
(July 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयको क्यान्टिन बाख्राको खोर

बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् ।

स्थानीय गणेश साउदले विद्यालयको घरमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा राख्ने गरेका छन् । साउदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो ।

गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रध्यानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउद जमिन आफ्नो रहेको दावी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्काे ठाउँमा सारिएको थियो ।

स्वास्थ्य चौकी अर्काे ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउदले बताए । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनको रुपमा प्रयोग गर्दै आएको थियो ।

तर, गणेश साउदले भने स्वास्थ्य चौकीलाई आफुले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई दान गरेको हँु, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’

नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफु जानकार नरहेको उनी बताउँछन् । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि स्थानीय गणेशबहादुर साउदले आफुले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन ।

प्रकाशित मिति: Jul 25, 2022

प्रतिक्रिया दिनुहोस्