एक वर्षमा लमजुङ अस्पतालबाट सात हजारले लिए नि:शुल्क सेवा
लमजुङ जिल्ला अस्पतालबाट एक बर्षमा सात हजार सेवाग्राहीले नि:शुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले नि:शुल्क सेवा दिएकाे अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
नि:शुल्क सेवा लिनेमा तीन हजार चार सय सात जना पाँच वर्षमुनिका बालबालिका छन् । अस्पताल प्रमुख श्रेष्ठकाअनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिब, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरlक लगायतलाई नि:शुल्क सेवा दिएको हो ।
अस्पतालले नि:शुल्कका स्वास्थ्य सेवा दिने क्रममा करिब दुई करोड रुपैयाँको सेवा दिएको प्रमुख श्रेष्ठले बताए । एक करोड ७२ लाख १० हजार तीन सय ७८ रुपैयाँ बराबरको नि:शुल्क सेवा दिएको हो ।
अस्पतालले पाँच वर्षमुनिका बालबालिकाका निम्ती मात्रै ७४ लाख ७५ हजार नौ सय ९७ रुपैयाँ बराबरको सेवा दिएको अस्पतालले जनाएको छ ।
मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित लमजुङ जिल्ला अस्पतालमा ११ महिनामा मात्रै ६३ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांक छ ।
११ महिनामा आठ हजार पाँच सय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एक हजारभन्दा बढीले प्रसुति सेवा लिएका हुन् ।
नेपाल सरकारको स्वामित्वकाे याे १५ शैयाकाे अस्पताल ०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।
अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।