Logo
७ आश्विन २०८१, सोमबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्वासन देखाएर व्यक्तिको जग्गामा बिर्तामोड नगरपालिकाले फोहोर फाल्यो, वचन पूरा गरेन

बिर्तामोड–८ का मधुप्रसाद गौतमको देउनियाँ खोला नजिकैको जग्गामा बिर्तामोड नगरपालिकाले ११ महिना फोहोर फाल्यो । बिर्तामोड बजारबाट उब्जिएको फोहोर उनको करिब अढाई विघा जग्गामा राख्यो । लकडाउनको समयमा नगरपालिकाले उनको जग्गामा फोहोर फालेको थियो ।

त्यसबापत नगरपालिकाले देउनिया खोला तटबन्ध र गौतमलाई प्रति विघा वार्षिक साढे ९ लाख रुपैयाँ दिने प्रतिवद्धता जनायो । स्काभेटर लगेर उनको जग्गा खन्दै फोहोर पुरियो । ‘नगरपालिकाले फोहोर राखेबापत तटबन्ध बनाइदिन्छ भन्ने सहमति भएर फोहोर फाल्न दियौँ । प्रतिबिघा साढे वार्षिक साढे नौ लाख दिने भनेका थिए,’ गौतम भन्छन्, ‘तर, न तटबन्ध नै गरे न त सहमति अनुसार पैसा नै दिए । नगरपालिकाले धोका दियो ।’

नगरपालिकाले फोहोर फालेपछि उनको जग्गा बिग्रिएको छ । जग्गा भित्रभित्रै चिराचिरा परेको छ । ‘जग्गा चिरा परेको छ । अस्पतालको फोहोरले गर्दा जग्गामा उब्जानी हुँदैन । झार आएर जंगल जस्तै भएको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बिग्रियो । प्लास्टिक कुहिन सय वर्ष लाग्ने रहेछ । त्यो वेलासम्म धरधर लागेर क्रमस जग्गा बिग्रँदैछ ।’ यहाँ असर गर्ने फोहोर फालिएको उनी बताउँछन् । ‘पूरै असर गर्ने फोहोर रहेछ । यहाँ फोहोरमा जमेको पानी खाँदा मेरा तीनवटा गाई नै मरे,’ उनले भने ।

नगरपालिकाले अहिले अर्कैतिर फोहोर फाल्छ । उनले पटकपटक सहमति पूरा गर्न नगरपालिकालाई आग्रह गरे । तर, कुरै सुनेन् । ‘माननीय एकराज कार्कीले पनि आग्रह गरेपछि मात्र फोहोर फाल्न दिएको थिएँ । सहमति कार्यान्वयन गर भन्दा कसैले सुन्दैन । टोल विकास समितिमा सहमति भएको थियो । अहिले त्यो कागज पनि भेटिएन,’ उनले भने, ‘नगरपालिकाले सम्झौता पछि गर्ने, पछि गर्ने भन्दाभन्दै टार्‍यो ।’

नगरमा नयाँ जनप्रतिनिधि आएका छन् । नयाँ जनप्रतिनिधिले आफूमाथि न्याय गर्ने उनको विश्वास छ । ‘पहिलाको उपप्रमुख प्रमुख हुनु भएको छ । अब देउनिया नदी तटबन्ध र मसँग गरेको सहमति कार्यान्वयन हुने आस लागेको छ,’ उनले भने ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले भने आउने आर्थिक वर्षमा तटबन्धको काम गर्न बजेट छुट्याइने बताइन् । ‘उहाँसँग पहिला भएको सहमतिबारे जानकारी छैन । तर, उहाँले भनेअनुसार तटबन्ध गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘अब आउने वर्ष केही बजेट छुट्याउने छौँ ।’

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्