Logo
५ आश्विन २०८१, शनिबार
(June 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिसस कैलालीको निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल

जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।

जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।

सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२-१२ थियो । यस्ताे अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर बनेका हमाल निर्णयक थिए ।

शनिबारसम्म कतै नखुलेका हमालले आज भने गठबन्धनकाे उम्मेदवारलाई भोट हालेको बताएका छन् । उनको भोटसँगै सत्तारुढ गठबन्धनले जिससको नेतृत्व गर्ने देखिएको छ ।

बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कूल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । जिसस कैलालीको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरी उम्मेदवार छन् ।

१३ पालिकाका २६ जना मतदाता रहेको कैलालीमा २५ जना मात्रै मतदाता छन् । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको हो ।

प्रकाशित मिति: Jun 13, 2022

प्रतिक्रिया दिनुहोस्