Logo
४ आश्विन २०८१, शुक्रबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तारा एयर दुर्घटना : अध्ययन समिति गठन गर्न प्रचण्डको माग

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।

सोमबार पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ ।

उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आफन्तजनमासमवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनाको अनुसन्धान गर्न समिति गठन गर्न माग गरेका हुन् ।

‘यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डको शोक वक्तव्य :

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुहरुको निधन भएको खबरले मर्माहत भएको छु ।

यस दुखद् घटनामा परी निधन हुनुभएका विमान कर्मचारी र सम्पूर्ण यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुका शोकाकूल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने दुर्घटनाले केही गम्भीर प्रश्न खडा गर्ने गरेका छन् । यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
१६ जेठ, २०७९

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्