Logo
२३ भाद्र २०८१, आईतबार
(May 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेले मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप लगाउँदै खेद प्रकट गरेको हो ।

महासचिव शंखर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आफूविरुद्ध मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न माग गरेको छ ।

‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् । उनले पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न माग गरेका छन् ।

एमालेले निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथीभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौँ स्थानमा बुथकब्जा गरेको आरोप लगाएको छ ।

त्यस्तै, निर्वाचन सुरु हुनुभन्दा अगाडि सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनले प्रहरी र कर्मचारीहरु खटाएको, मतदातालाई हतोत्साह गर्न गिरफ्तारी गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरेको, मौन अवधिमा अनुचित प्रभाव पार्ने गरी विभिन्न गतिविधि गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति: May 16, 2022

प्रतिक्रिया दिनुहोस्